बाँच्दैन भनेर छोराछोरीले अस्पतालमै छाडे पछि गाउँ बाट ८० वर्षीया आमा आएर यसरी सकिनसकी स्याहार्दै
काठमाडौं, असार ९– ट्रमा सेन्टरको बेड नम्बर ५०५ । ओछ्यानमा पल्टिरहेका बिरामी बेलाबेला ऐया, आत्था, दुख्यो, लौन भनेर कराउँछन् । छेउमै रहेकी बृद्धा ‘खै कहाँ दुख्यो ?’, ‘यता फर्कि त ?’, ‘धेरै चल्न भएन के बुझिस्’ भन्दै सकीनसकी बिरामीलाई कोल्टो फर्काउँछिन् । लुगा मिलाइदिन्छिन् ।
वरपर बेडमा रहेका बिरामीका कहिले को आउँछन्, कहिले को आउँछन्, सोधीखोजी गर्छन् । तर ५०५ नम्बरको बेडमा बिरामी र ती बृद्धा बाहेक अरुको चहलपहल देखिंदैन । ‘विचरा श्रीमतीले पहिल्यै छोडेर हिँडिछ, छोराछोरीले पनि वास्ता गरेनछन्, अहिले आमा आएर स्याहार्दैछिन्’ नजिकै बेडको बिरामी कुर्न बसेका एकजनाले बिस्तारै भने ।
उनले साउती मारेर भनेको कुरा पनि बृद्धाको कानले ठम्याएछ । ‘के गर्नु त बा, नातिनातिनालाई आफ्नो बाउको माया नलागेपनि म बुढीलाई छोरोको मायाले यहाँसम्म डोहो¥याएर ल्यायो । अब यसलाई निको पारेरै लान्छु’ बिरामीलाई खानेकुरा दिंदै गरेकी बृद्धाले भन्नुभयो ।
आफ्नो स्याहारसुसारमा खटिएकी ८० वर्षिया आमाको कुरा सुनेर बिरामी छोराको आँखा रसायो । अनि उनले आफ्नो व्यथा पोखे । ‘के गर्नु श्रीमतीले छाडेर गएपनि छोराछोरी त छन् नि भनेर ढुक्क थिएँ, तर उनीहरुले अलपत्र छाडेर गए, आमा आएर बचाइन्’ यति भन्दा उनको गला अवरुद्ध भयो । बृद्धा आमाको स्याहार र साथमा तँग्रंदै गरेका यी बिरामी हुन्, गोरखाका ईश्वर श्रेष्ठ । ४८ वर्षका श्रेष्ठ झण्डै ५ महिनाअघि ट्रमा सेन्टरमा भर्ना हुनुभएको हो । उहाँका अनुसार जाँडरक्सी खाएका केही केटाहरुले उहाँलाई कुटपीट गरे । त्यसपछि उपचारको लागि उहाँलाई ट्रमाको आइसियूमा भर्ना गरियो ।
त्योबेला छोराछोरी, ज्वाइँ र अहिले कुर्न बसेकी आमा पनि सँगै थिए । आईसियूमा उपचार भैरहेको बेला ज्वाईहरुले आमा कृष्णकुमारीलाई घर पुर्याइदिए । काठमाडौंमै बस्ने छोरा बिरामी बुवाको स्यहारमा खटिए । साथमा छोरी र ज्वाइँहरु पनि थिए ।
‘तर अब म बाँच्दिन भन्ने उनीहरुलाई लागेछ, त्यसपछि छाडेर हिँडे’ ईश्वरले भन्नुभयो । छोरा छोरी र ज्वाइँले छाडेर हिँडेपछि उहाँको रेखदेख गर्ने कोही भएन । आइसियूबाट झिकेर वार्डमा राख्दा बेलाबेला उठाउने, हिँडाउने गर्नुपर्दथ्यो । तर बेडमा चौबीसै घण्टा सुतिरहँदा उहाको पिठ्युँमा घाउ भयो । ‘पहिलेको चोट ठीक हुँदै थियो, फेरि यो घाउले मलाई दुःख दियो’ ईश्वरले भन्नुभयो ।
आफुलाई स्याहार गर्ने कोही नभएपछि बिरामी ईश्वरले भगवान ईश्वरलाई पुकार्नुभयो । उहाँको पुकार भगवानले सुने कि सुनेनन्, तर गोरखामा रहेकी वृद्धा आमाले सुईको पाउनुभयो । छोरो अस्पतालमा एक्लै छ भन्ने थाहा हुने बित्तिकै उहाँ गोरखाबाट काठमाडौं चल्ने बसमा चढ्नुभयो ।
‘बसपार्कसम्म बसले ल्याईहाल्यो, त्यहाँबाट गाउँकै एकजना मान्छेलाई अस्पतालसम्म लैदेउ भनें र यहाँसम्म आएँ’ बिरामी छोरोसँगै बसेकी ८० वर्षिया कृष्णकुमारीले भन्नुभयो । ट्रमाको ५ औं तलामा बिरामी छोरासँगै बस्ने कृष्णकुमारी एक्लै तल्लो तलासम्म पनि ओर्लन सक्नुहुन्न ।
‘डाक्टरले औषधी लेराउ भन्दा वरपरका अरु बिरामी कुरुवासँगै औषधी पसलसम्म पुग्छु, उनीहरुसँगै फर्कन्छु’ आमैले आफ्नो व्यथा सुनाउनुभयो । औषधी लिन जाँदा र आउँदा त साथी पाउनुभएको छ । तर खर्च जुटाउन भने समस्या छ ।
‘अलि अलि भएको पैसा सकिहाल्यो, अब औषधी चाहियो भन्दैनन् कि’ आमैले आस गर्नुभयो । बिरामी कुर्न बस्दा खाना, खाजामा पनि खर्च हुन्छ । तर खानाको लागि उहाँले एउटा उपाय लगाउने गर्नुभएको छ । ‘बिरामीको लागि खाना आउँछ, अलि धेरै झिक्छु, आधी उसले खान्छ, आधी मैले’ बृद्धाले व्यथा सुनाउनुभयो, ‘के गर्नु जसोतसो बाँच्न त पर्यो नि ।’

0 comments
Write Down Your Responses