भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट धमाधम नेपाल भित्रिएको राहत सामग्री अझै पनि भन्सार गोदाममा यसरी कुहिदै
वैशाख १२ को भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट राहत सामग्रीहरु धमाधम नेपाल भित्रियो । भूकम्प पछि नेपाललाई परेको विपतमा सहयोग गर्दै विभिन्न देशहरुबाट राहत सामाग्री नेपाल भित्रिएको थियो । तर, ती मध्ये अधिकांश सामग्रीहरु पीडितहरुका माझ पनि पुग्यो तर केही राहत सामग्री अहिले पनि विमानस्थल भन्सारमा अलपत्र परेको छ ।
विमानस्थल भन्सार कार्यालयका अनुसार अहिले विभिन्न खाद्य पदार्थ, टेन्ट, भाडाकुुडा, लुगाफाटा, औषधि, केही विद्युतीय सामग्रीहरु अलपत्र परेका छन् । अलपत्र परेको मध्ये यो हो भूकम्प पछि भारतले गरेको नाकाबन्दीका बेला केही सहयोग पुगोस् भनेर चीन सरकारले उपलब्ध गराएको इन्डक्सन चुल्हो ।
तर, अहिलेसम्म विमानस्थल भन्सारबाट यो चुल्हो लगिएको छैन । २ हजार ५ सय कार्टुनमा १० हजार पिस चुल्हो नेपाल आएको थियो । चीन सरकारले भूकम्प लगत्तै घोषणा गरेको सहयोगभित्रै रहने गरि नाकबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको चुल्हो बल्ल लैजाने प्रक्रिया थालिएको हो । भूकम्प लगत्तै विदेशमा रहेका नेपालीहरु, विभिन्न मित्र राष्ट्र, दातृ निकायहरुले राहत सामग्री उपलब्ध गराएका थिए । तर, त्यो मध्येका कतिपय राहत सामग्री अहिले पनि भन्सारमा अलपत्र परेको छ । भूकम्प गएको बर्ष दिन वितसक्दा समेत कोही लिन नआएको र आएकाहरु मध्येले पनि प्रक्रिया पु¥याउन नसक्दा राहत सामग्री विमानस्थलमा अलपत्र परेको हो भन्छन् विमानस्थलका भन्सारका प्रमुख योगेन्द्र गौचन ।
भूकम्प लगत्तै आएका सामग्रीहरुलाई सरकारले शून्य भन्सार महसुलमा छाडेको थियो तर त्यो निश्चित अवधि पार भएपछि पनि राहत सामग्रीहरु आउन छाडेनन् । भूकम्प पीडितहरुलाई खाद्यन्नदेखि लत्ताकपडा,टेन्ट लगायतका सामग्री नेपाल भित्रियो तर भन्सारको प्रक्रिया पूरा हुन नसक्दा राहत सामग्री अलपत्र परेका हुन् । कतिपय पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न विशष्ट व्यक्तिहरुको नाममा आएका राहत सामग्रीहरु अहिले पनि भन्सार भित्रै छ । ती मध्ये केहीको म्याद नाघेको कारण तिनीहरुलाई गाड्ने तयारी गरिएको छ । भन्सार ऐन अनुसार कुनै पनि सामान आएको ६० दिन भित्र गोदामबाट निकालिसक्नु पर्ने हुन्छ ।
यदि त्यो अवधिमा निकाल्न नसकिए त्यो सामग्री जति राख्यो त्यसको ढिलाई लगायतको महसुल तिर्नु पर्ने हुन्छ । राहतका सामग्रीहरु सबैले भन्सारको प्रक्रिया पूरा गरेका छैनन् । त्यही कारण कपितयलाई विक्री वितरण गर्नु पर्ने अवस्थामा विमानस्थल भन्सार पुगेको छ भने कतिपय औषधि र उपकरणहरु स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइएको छ । विभिन्न ठाउँबाट भूकम्प पीडितहरुलाई दिनु भनेर मानवीय सहयाता स्वरुपमा आएका सामग्रीहरु कोही लिलामी गर्नु पर्ने अवस्थामा पुगेको छ भने कोही सडेर गएका छन् यसप्रति सरकारको ध्यान जान सकेको छैन ।

0 comments
Write Down Your Responses