हाम्रो नेपालमा: पैसा कमाउने प्रलोभनमा परी दाजुले नै गरे यसरी भाईको अपहरण
राजविराज– सप्तरीमा पैसा कमाउने प्रलोभनमा परी एक युवकले ८ वर्षिय वालक अपहरणमा परेको घटना सार्वजनिक भएको छ । रोचक त के छ भने अपहरणका मुख्य आरोपी बालकका दाई भएको प्रहरीले जनाएको छ ।
धेरै पैसा कमाउने लालसामा सप्तरीको रौतहट २ वस्ने गंगाई दासका छोरा १६ वर्षिय जितेन्द्रले भाई सिकेन्द्रको अपहरण गरेको प्रहरी कार्यालय सप्तरीले मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
अपहरित वालक सिकेन्द्रलाई प्रहरीले सकुसल उद्धार गरेको छ भने घटनामा संलग्न जितेन्द्र सहित तीन युवालाई पक्राउ गरिएको छ । घटना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकालले भने– ‘केहि गर्नुपर्छ भन्ने युवा जोस घटना हुनुको प्रमुख कारण देखिएको छ।’ समाजमा वाँच्नको लागि पैसा कमाउनु अति आवश्यक भएको वुझेका युवाहरुले आपसमा सल्लाह गरी ब्यापार गर्ने योजना वनाएको र त्यसका लागि आवश्यक पर्ने पैसा आफन्तवाट सजिलै हात पार्ने काँचो मनोविज्ञानले वालकको अपहरण भएको उनले जानकारी दिए । घटना अनुसार सिरहाको लहान स्थित ग्लोवल वोर्डिङ्ग स्कुलको युकेजी कक्षामा अध्ययनरत वालक गत साउन ६ गते घर नजिकैको चौरमा खेलिरहेको अवस्थामा अपहरणमा परे । त्यसको भोलीपल्ट ९८२५७४२७५९ नम्वरको मोवाईलवाट जितेन्द्रका ठूलो बुबाको मोवाईलमा फोन गरी अपहरणकारीले फिरौती १५ लाख रकम माग गरेका थिए ।
सोहि आधारमा पीडितले प्रहरीलाई उजुरी दिएपछि प्रहरी अपहरणकारी सम्म पुग्न सफल भएको थियो । ‘हामीले तत्काल अपहरणकारीको मोवाईल ट्रेस ग¥यौं, जसमा अपरणकारी मौवाहा गाविस क्षेत्रमा रहेको जानकारी प्राप्त भयो’ एसपी ढकालले भने–‘सो लोकेसनमा सादा पोसाकमा प्रहरी परिचालन ग¥यौं तर, अपहरणकारीलाई फेला पार्न सकिएन ।’
अपहरणपछि घटनामा संलग्न अन्य दुई जना स्थानीय देवनाथ दासका छोरा वर्ष १८ का दिलिप कुमार र शिवनारायण दासका छोरा वर्ष १५ का अरविन्दकुमारले वालकलाई भारतीय क्षेत्रमा लिएर गएको र जितेन्द्र भने फोन गर्नकै लागि मौवहा क्षेत्रमा आउने गरेका कारण प्रहरी पनि अन्यौलमा परेको उनले वताए । अन्त्यमा भारतीय प्रहरीको समेत सहयोग लिई कोदरकट्टि गाविसको भारतीय सिमा नजिकैवाट वालकको उद्धार र अपहरणकारीलाई नियन्त्रणमा लिएको ढकालले बताए । सो क्रममा वालक अपहरणका लागि प्रयोग गरिएको स४प ३९३३ नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।
वालकका बाबु वैदेसिक रोजगारीमा रहेको र छोरो अपहरणमा परेको सुनेपछि तत्काल पैसा दिन तयार हुने मानसिकताले अपहरणको योजना वनेको पक्राउ परेका तीनै जनाले स्विकार गरेको डिएसपी दानवहादुर कार्कीले जानकारी दिए । पक्राउ तीनै जनालाई अपहरण तथा शरीर वन्धक मुद्दा अन्तर्गत म्याद थप गराई कारवाही सुरु गरीएको उनले जानकारी दिए ।

0 comments
Write Down Your Responses