सिंहदरबार घेर्न गएका आफ्ना नागरिक पक्राउ परेपछि बेलायतको यस्तो कडा चेतावनी
काठमाडौं, ७ जेठ । संयुक्त अधिराज्य बेलायतले आफ्ना नागरिकलाई नेपालको राजनीतिक गतिविधिमा संलग्न नहुन सचेत गराएको छ ।
संघीय गठबन्धनको राजधानी केन्द्रीत आन्दोलनअन्तर्गत जेठ २ गते सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका एक बेलायती नागरिकलाई नेपाल सरकारले पक्राउ गरेपछि बेलायतको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर नेपालमा भइरहेका राजनीतिक गतिविधिमा संलग्न नहुन भनेको हो ।
नेपालको आन्तरिक मामिला एवं राजनीतिक गतिबिधिमा सहभागी हुँदा नेपाल सरकारले देश निकाला, जरिवाना वा जेल सजाय दिनसक्ने चेतावनी दिँदै त्यसबाटै टाढै रहन सुझाव दिएको छ ।
विदेशी नागरिक नेपालको आन्तरिक तथा राजनीति गतिविधिमा चाँसो राख्न थालेपछि अध्यागमन विभागले ऐन परिमार्जन गरी यस्ता गतिविधि गर्नेलाई देश निकाला गर्ने, १० वर्षसम्म नेपाल आउन नपाउने र ५० हजार जरिवाना गर्ने नीति ल्याएको छ ।
यसअघि नेपालको आन्तरिक मामिलामा चाँसो राख्ने क्यानेडियन नागरिकलाई अध्यागमन विभागले देश छोड्न लगाएको थियो ।

0 comments
Write Down Your Responses