ओलीलाई नेपाल खनालको चुनौती : नेतृत्व नसच्चिए चाडै विस्फोट हुनसक्छ
काठमाडौं–एमालेका वरिष्ठ नेताले अध्यक्ष केपी ओली नसच्चिए पार्टीमा रहेको उकुसमुकुस विस्फोट हुनसक्ने चेतावनी दिएका छन् । अध्यक्ष ओली निरंकुश र अपारदर्शी ढंगले अघि बढेको उनीहरूको आरोप छ । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार गरेको कार्यशालामा नेता माधव नेपालपक्षीय नेता तथा कार्यकर्ता राजधानीमा भेला भएका थिए ।
उनीहरूलाई सम्बोधन गर्दै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीको कार्यशैलीले पार्टी एकता कमजोर र गुटबन्दी बढेको भन्दै नेतृत्वको आलोचना गरे । उनीहरूले नेतृत्व चुन्ने विधि नै परिवर्तन गर्नुपर्ने धारणासमेत राखेका थिए ।
कार्यशालामा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, जनसंगठनका पदाधिकारीसहित चार सय ५० नेता–कार्यकर्ता सहभागी रहेको केन्द्रका महासचिव ठाकुर गैरेले जानकारी दिए । एमाले उपमहासचिव घनश्याम भुसालले ‘कम्युनिस्ट आन्दोलन : अबको बाटो’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । बुधबार डा. विजय पौडेल र डा. गोविन्दबहादुर थापाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै छन् ।
एमालेमा नेताहरूका नाममा खुलेका करिब एक दर्जन संस्था छन् । नेताकै नाममा अस्पताल र कलेज पनि सञ्चालन भइरहेका छन् । मदन भण्डारी फाउन्डेसन, मदन भण्डारी अध्ययन केन्द्र, मदन–आश्रित स्मृति प्रतिष्ठान, पुष्पलाल स्मृति प्रतिष्ठान, मनमोहन स्मृति प्रतिष्ठान, तुल्सीलाल स्मृति प्रतिष्ठान, मोतीदेवी स्मृति अध्ययन केन्द्र, सहाना प्रधान स्मृति प्रतिष्ठान, झलनाथ खनाल प्रतिष्ठानलगायत संस्था छन् ।
एमालेमा संस्थाको अध्यक्ष जुन पक्षका छन्, सोही आधारमा कार्यक्रम गरेर अनुकूल प्रमुख अतिथि बोलाउने र पार्टीका विषयमा धारणा राख्ने प्रचलनजस्तै बनेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses