विश्व फुटबल जगतका चर्चित हिरोद्धय मेसि र रोनाल्डो पछिल्लो समय निकै आलोचित बने र अन्तमा मेसीले लिए सन्यास
काठमाडौं – सोेमबार चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै कोपा अमेरिकाको उपाधिबाट बञ्चित हुँदा लियोनेल मेस्सी निकै पीडामा देखिन्थे । उनले आँखामा आँशु रोक्न सकिरहेका थिएनन् । खेलपछि उनले कसैले नसोचेको निर्णय लिए, अन्तर्राष्ट्रिय फुटबलबाट सदा लागि बिदा हुने । ‘सायद मेरो लागि यो थिएन । यस्तो चार पटक फाइनलमा भयो । च्यापियन नबन्नु निकै दुःखदायी हुन्छ,’ खेलपछि अर्जेन्टिनी टेलिभिजनसँग सन्यासको निर्णय सुनाउँदै उनले भने । चार–चार पटक मुख्य प्रतियोगिताको फाइनल पुगेर पनि उपाधिविहिन बनेका उनले अन्नतः हार खाए ।
विश्वकै ‘नम्बर वान’ खेलाडी मेस्सीमाथि आलोचकहरुले सँधै एउटै आरोप लगाउँथे – मेस्सी क्लबका लागि खेल्छन्, देशका लागि होइन । उनले देशका लागि केही पनि जित्न सक्दैनन् । हुन पनि अर्जेन्टिना सन् १९९३ देखि उपाधिविहिन छ । उता, क्लबस्तरमा भने मेस्सीले जित्न बाँकी केही छैन । किर्तिमानी पाँच पटक उनी फिफा वर्ष खेलाडी चुनिएका छन् । उनका नाममा अन्य कयौं किर्तिमानहरु बनेका छन् ।
मेस्सीले यो आरोपको खण्डन गर्न सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनल र सन् २०१४ को विश्वकपको फाइनलमा मौका पाए । तर, अन्तिममा आएर सँधै चुके । गोलमेसिन मानिने उनले कुनै पनि फाइनलमा गोल गर्न सकेनन् । यसपटक पनि उनी फाइनलअघिसम्म गोल गर्ने उत्कृष्ट लयमा थिए । यही प्रतियोगितामा उनले ग्याब्रियल बाटिस्टुटाको किर्तिमान ताड्दै ५५ गोलसहित अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता बने । यद्यपि, फाइनलमा उनी पेनाल्टी गर्नबाट चुके । हुनत ः उनले सन् २००८ को ओलम्पिक जितेका छन् । तर फुटबलमा त्यसलाई खासै मान्यता दिँइदैन ।
प्रतियोगिताअघि स्वयं अर्जेन्टिनाका महान् खेलाडी म्याराडोनाले समेत मेस्सीको आलोचना गरेका थिए । ‘उनीसँग नेतृत्व गर्ने क्षमता छैन,’ म्याराडोनाले बताएका थिए । म्याराडोनाको आरोप जस्तै उनको नेतृत्वमा अर्जेन्टिना उपाधिविहिन नै रह्यो ।
हरेक पटक आलोचकलाई आफ्नो खेलबाट जवाफ दिने मेस्सीले यसपटक भने कुनै जादु देखाउन सकेनन् । यही आरोपसाथ उनी अन्तर्राष्ट्रिय खेलबाट बिदा भए । केहीले २९ वर्षीय मेस्सीले आफ्नो निर्णय फिर्ता पनि लिन पनि सक्ने बताइरहेका छन् । यदी उनी फेरि अर्जेन्टिनाको जर्सीमा फर्किए सन् २०१८ को विश्वकपमा एकपटक फेरि आफूलाई साबित गर्ने मौका पाउनेछन् ।
रोनाल्डोमाथि उस्तै दबाब
कोपा अमेरिका सकिँदा उता युरो २०१६ जारी छ । त्यहाँ अर्का महान् खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो देश पोर्चुगलको नेतृत्व गरिरहेका छन् । रोनाल्डो पनि मेस्सीजस्तै दबाबमा छन् । उनीमाथि पनि मेस्सी जस्तै आरोपहरु छन् । जो उनी गलत साबित गर्न चाहन्छन् ।
तर, रोनाल्डोको टोलीले युरो २०१६ मा आशातित प्रदर्शन गर्न सकिरहेको छैन । कमजोर मानिएको समूहमा बल्लतल्ल तेस्रो भएर पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको थियो । अझ नकआउटमा क्रोएसियाबिरुद्धको खेल त झनै निरश थियो । लिग चरणको अन्तिम खेलमा दुई गोल गर्न बाहेक रोनाल्डोले पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । तर, अझै पनि उनीसँग खेल सुधारको अवसर र आफ्नो टोलीलाई युरो २०१६ को उपाधि चुमाउने अवसर बाँकी छ । र, सम्भवतः उनको लागि यो अन्तिम अवसर पनि हो । किनभने ३० औं बसन्त पार गरेका उनले सायदै ठूला प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।
आफ्नै कारण दबाब
रोनाल्डो र मेस्सीले फुटबलको स्तरलाई यति माथि उठाइदिएका छन् कि हरेक खेलमा यी दुई खेलाडीबाट दर्शक र समर्थकले अरुभन्दा बढी नै अपेक्षा गर्छन् । एक खेलमा पनि यिनले गोल गरेनन् भने आलोचना शुरु भैहाल्छ ।
प्रत्येक खेलमा ह्याट्रिक गरोस् भन्ने आमदर्शकको यिनीहरुबाट अपेक्षा हुन्छ । नहोस् पनि किन, दुवैले हालसम्म भएका धेरै जसो किर्तिमान भंग गरेका छन् । उनीहरुले कायम गरेको किर्तिमानलाई तोड्न अब अरुलाई धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । यो अपेक्षालाई उनीहरुले क्लब स्तरमा त पूरा गरिरहेका छन् तर राष्ट्रिय टोलीको हकमा भने सकेका छैनन् । के दुवै खेलाडी राष्ट्रिय स्तरमा असफल हुँदै बिदा हुनेछन् ? के रोनाल्डोको नियति पनि मेस्सी जस्तै हुनेछ ? यो भने केही दिनमा प्रष्ट हुनेछ ।

0 comments
Write Down Your Responses