• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » आत्महत्या प्रकरण : हत्या की आत्महत्या ? छुट्याउनै मुस्किल पर्छ प्रहरीलाई
आत्महत्या प्रकरण : हत्या की आत्महत्या ? छुट्याउनै मुस्किल पर्छ प्रहरीलाई


२३ जेठ, काठमाडौं । फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको रहस्यमय मृत्यु भएको एक साता बितिसक्यो । तर, प्रहरी अनुसन्धानले मनिषाको हत्या हो कि आत्महत्या भन्नेमा प्रष्ट हुन सकेको छैन । मनिषाको मृत्युको कारण के हो भन्ने अनुसन्धान पछि खुल्ने नै छ । तर केही यस्ता घटनाहरु छन् जसले हत्या र आत्महत्या छुट्याउन प्रहरीलाई कति कठिन हुन्छ र कसरी निर्दोषहरु फस्न सक्छन् भन्ने देखाउँछ । 

हत्याको आरोपपछि हिरासतमै आत्महत्या 

कानुनको सिद्दान्तले भन्छ बरु एक सय जना दोषीहरु छुटुन् तर निर्दोष एउटा पनि नपरोस् । तर नेपालमा भएका केहि प्रतिनिधि घटनाहरु यस्ता छन् जसमा निर्दोष व्यक्ति पनि हिरासतको बसाईं र मानसिक यातना खान बाध्य भए । यसो हुनुमा स्थानीयको दबाव प्रमुख कारण हुन्छ । करिब २ महिना अघि जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा एक व्यक्तिले आत्महत्या गरे । उनी थिए, सल्यान त्रिवेणीका ५३ वर्षीय गोपाललाल बुढाथोकी । उनी निर्मला विकको हत्या गरेको आरोपमा पक्राउ परेका थिए । 

स्थानियले निर्मलाको हत्या भएको भन्दै गोपालको विरुद्धमा किटानी जाहेरी मात्र दिएनन् प्रहरी प्रशासनलाई दबाव दिन चक्काजाम लगायतका आन्दोलनसमेत गरे । किटानी जाहेरीपछि प्रहरीले गोपाललाई पक्राउ गर्‍यो । समाजमा बदनामी र मानसिक पीडा सहन नसकी गोपालले २०७२ फागुन २९ गते हिरासतभित्रै आत्महत्या गरे । उता निर्मला विकले पनि झुण्डिएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टले देखायो । पोष्टमार्टम रिपोर्टअनुसार गोपालले निर्मलाको हत्या गरेको भन्ने स्थानीयको आरोप गलत सावित भयो । त्यसपछि निर्मलाको हत्या आरोपमा गोपालसँगै पक्राउ परेकाहरुलाई जिल्ला अदालतको आदेशमा साधारण तारिकमा छाडियो । 

ब्रेन हृयामरेजले मृत्यु, तर श्रीमानलाई लाग्यो आरोप 

करिब ३ महिना अघि काठमाडौंको मैहृपीमा गोर्खाकी २७ वर्षीय संगिता थापा कोठामै मृत भेटिइन् । केही समयदेखि श्रीमानसँग झगडा परेर छुट्टै बस्दै आएकी संगिताको श्रीमानले नै हत्या गरेको आरोप स्थानियले लगाए । भित्रबाट चुकुल लगाइएको कोठामा मृत भेटिएकी थापाको हत्या होइन भन्ने प्रहरीले घटना प्रकृति हेरेर थाहा पाइसकेको थियो । तर, स्थानीयले हत्याको आरोप लगाउँदै आन्दोलन गर्न थालेपछि प्रहरीले बाध्य भएर श्रीमानलाई हिरासतमा राखेर कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलायो । उता पोष्टमार्टम रिपोर्टमा संगिताको मृत्युको कारण बे्रन हृयाम्बे्रज देखायो भने २४ दिन हिरासतमा बसेका आरोपी श्रीमानलाई अदालतले सफाइ दियो । 

दवावमा पर्छन् प्रहरी 

अनुसन्धानका क्रममा निर्दोषहरु पक्राउ पर्नसक्छन् तर उनीहरु सजायको भागिदार नहोउन् भनेर सचेत हुनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । ‘प्रहरीले कसैको दबावमा वा प्रभावमा परेर गरेको अनुसन्धानले सबैलाई अपराधी ठहर गर्न सक्दैन,’ अपराध अनुसन्धान विभागका एआइजी बिज्ञानराज शर्मा भन्छन्, ‘प्रमाण र कानुनले मात्रै कसैलाई अपराधी ठहर गर्न सक्छ, भावना र दबावमा हुने अनुसन्धानले निर्दोषलाई पीडा मात्रै दिन्छ भन्नेतर्फ प्रहरी सचेत हुनुपर्छ ।’ 

एक वर्षमा ४३ सयले गरे आत्महत्या 

प्रहरीको तथ्यांकअनुसार अघिल्लो एक वर्षमा देशैभरि ४ हजार ३ सय ३२ जनाले आत्महत्या गरेका छन् जसमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या धेरै छ । ३ हजार १ सय ५ जनाले झुण्डिएर आत्महत्या गरेको र एक हजार ९० जनाले विष खाएर आत्महत्या गरेको अपराध अनुसन्धान विभागको तथ्यांक छ । हाम फालेर, करेन्ट लगाएरसमेत मान्छेहरुले आत्महत्या गर्ने गरेका छन् । एआइजी शर्माका अनुसार आत्महत्या गर्नेमा कलेजका युवायुवती बढी छन् । त्यसो त पारिवारीक तनावको कारणले आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ । आत्महत्याका घटना रोक्न घरका सदस्य र अविभावकहरु विशेष गरी सचेत हुनुपर्ने मनोचिकित्सकहरु बताउँछन् ।

श्रोत: अनलाईन खबर 

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com