रक्सीको सनकले ८० हजारमा हत्या : अभियुक्त भन्छन्, ‘एउटालाई भनेर मार्न जाँदा अर्को पर्यो
नुवाकोट–मानवीय संवेदना हराउँदै गएको समाजमा पैसाको लोभ र मदिराको सनककै भरमा समान्य रिसिबीको पनि बदला लिनकै लागि मानिसको ज्यानसम्म लिने अपराधिक मौलाएको छ । यसैको पछिल्लो उदाहरणस्वरुप मदिराको मातमा ८० हजार रुपैयाँमा नुवाकोटको सामरी गाउँका एक युवाको हत्या गरिएको छ । त्यो पनि एउटाको ज्यान मार्नका लागि ८० हजार रुपैयाँमा कबोल गरेर हिँडेका युवाहरुले बाटोमा अर्कोलाई भेटेपछि भएको सामान्य भनाभनकै कारण हत्या गरेका छन् ।
नुवाकोटको सामरी–३ फलाँटे गाउँका २४ वर्षीय कुमार तामाङको हत्यामा संलग्न रहेको आरोपमा स्थानिय ४ जना युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एकजना भने अझैँ फरार रहेकोले खोजी कार्य भइरहेको नुवाकोटका प्रहरी प्रमुख एसपी देव बहादुर बोहराले जानकारी दिए ।
९ दिनअघि जेठ १८ गते भएको उक्त घटनाको लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न रहेका ५ जनामध्ये ४ जनालाई ८ दिनपछि मंगलवार साँझ पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरुमा सामरी–६ मैबल गाउँका २४ वर्षीय डुब्बा भनिने बुद्धि बहादुर तामाङ, २२ वर्षीया दावा भनिने सोम बहादुर तामाङ, २७ वर्षीया मुस्कान तामाङ र वडा नं. ३ फलाँटेका १९ वर्षीया काले तामाङ रहेका छन् ।
प्रहरीले गरेको अनुसन्धान अनुसार जेठ १८ गते राती १० को समयमा सामरीस्थित फलाँटेको एक पसलमा स्थानीय कुमार तामाङ, प्रकाश तामाङ लगायतका ४ जना युवाहरु रक्सी पिइरहेका थिए । नजिकबाट त्यो देखिरहेका सोही स्थानका काले तामाङले उनीहरुमध्येका प्रकाशसँग पुरानो रिसिबीको बदला लिन चाहन्थे ।
आफ्नो बाबुलाई २ वर्षअघि कुटपिट गरेको प्रतिशोध साँचिरहेका कालेले प्रकाशसँग यही बेला बदला लिने उचित मौका ठाने र हत्या गर्ने योजनाका साथ तत्कालै मैबल गाउँका राकेश भनिने बुद्धिबहादुर तामाङलाई फोन गरे । प्रकाशको ज्यान मार्ने शर्तमा कालेले ८० हजार रुपैयाँ खर्चसमेत दिने प्रस्ताव राखे ।
पैसा पाइने लोभमा बुद्धिबहादुरले उनका साथीहरु मुस्कान तामाङ र सोम बहादुर तामाङसँग सल्लाह गरे र उनीसहित मदिरा सेवन गरी लठ्ठिएका ३ जना साथीहरु लिएर प्रकाशको हत्या गर्ने योजनाकासाथ एक घण्टाको दूरीमा रहेको फलाँटेतर्फ हिँडे ।
फलाँटे पुग्नै लाग्दा प्रकाशसँगै बसी रक्सी पिएर एक्लै फर्किरहेका कुमार तामाङलाई १०ः३० बजेको समयमा बाटोमा भेटे । त्यहाँ सामान्य भनाभन भएपछि बुद्धिबहादुरको समूहले उनलाई कुटपिट गरेर केही दूरी अगाडी बढे । कुटपिट गरेकै कारण आफूहरुको भोली गाउँमा बदनाम हुनसक्ने डरले पुनः कुमार भएतिर फर्कीआए र ढुंगाले टाउकोमा हानेर हत्या गरे ।
प्रकाशको ज्यान मार्ने योजनाकासाथ हिँडेका उनीहरुले कुमारलाई हत्या गरी प्रहरीले समात्ने अर्को डरले प्रकाश भएतिर नपुगी त्यहीँबाट भागेर फरार भएका थिए । प्रकाश त बच्न सफल भए तर, सामान्य भनाभन र मदिराको सनककै भरमा अर्का व्यक्ति अनाहकमा मारिए ।
घटनाको अनुसन्धानमा ८ दिनसम्मको समय खर्चिएको प्रहरीले घटनामा संलग्न व्यक्तिहरु पत्ता लगाउन २७ जनासँग सोधपुछ गरेपछि यी व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ परेका ४ जनालाई जिल्ला अदालत नुवाकोटमा म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले बताए । उनीहरुलाई कर्तव्य ज्यान अभियोगमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि बढाइने उनले जानकारी दिए ।

0 comments
Write Down Your Responses