• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Video » पतिलाई पञ्चायतले गोली हान्योे, १०१ वर्षीया म पशुपतिमा मागेर खाँदैछु : लक्ष्मीमाया (भिडियोसहित)
पतिलाई पञ्चायतले गोली हान्योे, १०१ वर्षीया म पशुपतिमा मागेर खाँदैछु : लक्ष्मीमाया (भिडियोसहित)

Laxmi Maya Moktan (4) copy
काठमाडौं– २०१८ सालमा तत्कालीन पञ्चायत व्यवस्थाले आफ्नै आँखा अगाडि पतिलाई गोली ठोकेर मारेको दृश्य अझै ताजै छ लक्ष्मीमाया मोक्तानसँग । ‘जेलमै छँदा बिरामी परेका मेरा श्रीमान बलमान मोक्तानलाई साथीहरूले भगाएर घरमा ल्याए । त्यसको केही समयमै प्रशासनले चारैतिरबाट घर घेरा हाल्यो । पतिलाई घर नजिकै लगेर गोली हाने । म र मेरी सासु बेहोश भएर भुइँमा लड्यौँ ।’ उनले रुँदै बताइन् ।  

‘त्यसपछि त कति हण्डर खाएँ मलाई मात्र थाहा छ,’ आँसु पुछ्दै लक्ष्मी मायाले भनिन्, ‘आमा, मलाई मार्छ अब भन्दै उहाँले छोराछोरीलाई राम्रोसँग पाल्न भन्नुभयो ।’ प्रहरीले आफ्ना पतिको छातीमा गोली ठोकेपछि आफू र आफ्नी सासु अचेत भएको र आफूहरुले बेहोशीमा बाटो बिराएर घर नपुगी अन्तै पुगेको समेत लक्ष्मीमायाले सम्झिइन् । उनको पतिलाई प्रशासनले जङ्गलमा लगेर मारेको थियो ।

बलबहादुर राईसँग सहिद बलमानको उठबस

राणा शासनका विरुद्ध तत्कालीन कांग्रेसको तर्फबाट लडेका बलमान मोक्तानलाई पछि पञ्चायतविरुद्ध लागेको आरोपमा २०१७ सालमा पक्राउ गरेर जेलमा राखिएको उनका छोरा कंसलाल मोक्तानले बताए । ‘बुबा कांग्रेस हुनुहुन्थ्यो रे । बलबहादुर राईहरूसँग उहाँको उठबस थियो रे । पञ्चायत व्यवस्था सुरु भएपछि उहाँहरूलाई पञ्चायतले जेलमा राखेको रहेछ ।

पछि १८ साल जेठमा बुवाका साथीहरूले कसोकसो भगाएर घरमा ल्याएका रहेछन् । चार दिनपछि पुलिसले घरबाट बोकेर जङ्गलमा लगेर गोली ठोकेको भन्ने आमाले भनेको सुनेको हुँ ।’ प्रहरीले नै लास वपेत्ता पारेपछि मोक्तान परिवारले शव जलाउन समेत पाएनन् ।

सानो कदको दुब्लो पातलो बलमान मोक्तानलाई कांग्रेसले लगेको धुमिल सम्झना सुनाउँदै लक्ष्मीमायाले पतिको मृत्युपछि काखे नानीहरूलाई लिएर तराई झरेको बताइन् । उदयपुरको आफ्नो थातथलोलाई छोडेर माइतीगाउँ लालबन्दी झर्दा उनीसँग आफ्नो भन्ने केही पनि थिएन । ‘त्यसपछि मैले अर्काको घरमा बसेर उनीहरूको काम गरिदिएर जीवन धानेँ ।’ लक्ष्मीले बताइन् ।

फोके बाबुसाहेबको घरमा पाँच वर्षको उमेरमा लिति सोहरेँ : छोरा

छोरा कंसलाल पनि पाँच वर्षको उमेरमा ‘फोके वाबुसाहेब’को घरमा घोडाको लिती सोहोर्न परेको सम्झना सुनाउँछन् । ‘महिनाको ५ रुपैयाँमा काम गरेर वर्षमा ६० रुपैयाँ कमाउँथे म । आमालाई सहयोग होस् भनेर घोडाको लिती सोहोरेको हुँ मैले ।’ १३ वर्षको उमेरमा आफूले दिदीको बिहे गर्न खर्च जोरजाम गरेको बाद्यता उल्लेख गर्दै कंसलालले भने, ‘बाबुको हत्यापछिको दुःखले सृंखलाले अहिलेसम्म पनि छोडेको छैन ।’

पञ्चायतले बलमानको हत्या मात्रै गरेन, मोक्तान परिवारको दस हल गोरुले जोत्ने खेतीपाती सबै लुटे । त्यसपछि बेघरबार बनेको मोक्तान परिवार अहिले काठमाडौं आइपुगेको छ । १०१ वर्षकी लक्ष्मीमाया मोक्तान पशुपतिनाथ मन्दिर परिसरमा मागेर बस्छिन् । छोरा कंसलाल भने मजदुरी गरेर जहान पाल्छन् । ‘रातो ठुलो घर थियो’, लक्ष्मी मायाले भनिन् ‘घरमा पनि आगो लगायो । भैंसी थिए, गाईगोरु थिए, खसी बाख्रा सबै लुटेर लगे । म रुँदै रुँदै तराई झरें ।’

बाबु मारिँदा २ वर्षको थिए कंसलाल

ज्याला गरेर आफ्ना चार सन्तान हुर्काएकी लक्ष्मीमायाको कान्छो छोरा कंसलाल बाबु मारिँदा २ वर्षका मात्र थिए । हामीलाई ‘जायजाथ जफत ’(सर्वस्व हरण) ग-यो । लक्ष्मीमायाले दुखेसो गरिन्, ‘म त्यतिबेला आफू जता गयो, बालबच्चा त्यतै बोकेर हिँडें । अर्को बिहे गर्न मन लागेन, यिनैको मुख हेरेर बसें ।’

बाबुको मृत्युपछि कंसलाल आमाको सहाराको रूपमा अर्काको घरमा बस्दै आए । अहिले त बाबुलाई शहीद घोषणा गराउन भनेर काठमाडौं आएको पनि बिस वर्ष भइसक्यो । सर्वस्वहरण भएबापत मोक्तान परिवारले अहिलेसम्म राज्यले दिएको १० हजार भन्दा बाहेक केही सुविधा पाएका छैनन् ।

तर अहिलेसम्म सहिद मानिएनन् बलमान

२०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा रहेको राजनीतिक पीडित सहायता समितिले बलमान मोक्तानलाई पनि शहीदको कोटिमा राखेर रातो किताबका उनको नाम चढेको थियो । त्यसैबेला मोक्तान परिवारले दश हजार रुपैयाँ पाएको बताए । तर आजसम्म पनि बलमानलाई राज्यले शहीद घोषणा नगरेको कंसलालले दुखेसो पोखे ।

‘पटकपटक देशमा राजनीतिक परिवर्तनहरू भए । कुकुरले टोकेका, भिरबाट लडेका, छारे रोगले मरेका समेत शहीद घोषणा भए तर मेरो बुबालाई कसैले वास्ता गरेन,’ कंसलालले भने, ‘यो देशमा दलालहरूको मात्र हालीमुहाली छ, मन्त्रीहरूका अरौटे–भरौटेको भनेको सबै हुन्छ । मेरो त कोही छैन, कसरी हुन्छ काम ?’

पछिल्लोपटक वर्तमान रक्षामन्त्री भीम रावलको अध्यक्षतामा बनेको कार्यदलले पञ्चायतकालमा मारिएका २२ जनालाई शहीद घोषणा गरेको छ । यो चरणमा आफ्ना बुवा पनि शहीद घोषणा हुनेमा आफू आशावादी भए पनि एमाले र काँग्रेसले च्यापेका मान्छे मात्र शहीद घोषणा भएको कंसलालले आरोप लगाए । ‘भीम रावलकोमा फाइल पुगेको छ तर उहाँले आफ्नो दायरा सानो भएको बताएर मेरो बुबालाई शहीद घोषणा गर्न नसकेको भनेर पन्छिनुभयो ।’ 

‘हामी पाखामा फ्याकिएका माछाजस्ता, बन्दुक बोकेर हिँडौँजस्तो लाग्छ’ 

आफ्नो बुवाले प्रजातन्त्र ल्याउन ज्यान बलिदान दिएपनि राज्यले गरेको बेवास्ताप्रति आक्रोस पोख्दै कंसलालले भने, ‘बाबुले व्यवस्था पल्टाउँछु भनेर लाग्दा आफैँ पल्टिनुभयो । छोराछोरीलाई पढाउनुपर्ने बेलामा आफू क्रान्तिमा होमिनुभयोे । हामी पाखामा फ्याँकिएका माछा जस्ता भयौँ ।’ 

देशका प्रमुख पार्टीहरूले आफ्ना बुवा शहीद नै भएको सिफारिस दिएको समेत उनले बताए । ‘कागजको हिसाबले सबै ठिक छ तर किन ढिलाइ भइरहेको छ ? कहिलेकाहीँ त बन्दुक बोकेर हिँडौं जस्तो लाग्छ ।’ ‘टुहुरोको दिन फिर्छ भनेको सुनेको थिएँ। मेरो पनि बुबालाई शहीद घोषणा गराउने उद्देश्य कसो पूरा नहोला ?’ कंसलालले भने ‘मलाई दश लाख चाहिएको होइन, बुबाको योगदानको कदर गरेर एउटा सम्मान पाइयोस् भन्ने मात्र हो ।’ 

२०५५ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्वस्वहरण भएको ठहर गरी मोक्तान परिवारको त्यसबखत खोसिएको चलअचल सम्पति फिर्ता गराउन नसकिने भन्दै मुआब्जा बापत रु पाँच लाख ४८ हजार दिन गृह मन्त्रालयलाई सिफारिस समेत गरेको थियो । तर आजसम्म आफूले सो बापत केही पनि नपाएको कंसलालको गुनासो छ ।

टेक्ने जमिन समेत छैन

जमिनको नाममा टेक्ने ठाउँसम्म नभएका कंसलालकी आमा लक्ष्मीमाया बिहानै पशुपतिमा गएर मागेर बस्छिन् । दिनमा १०० देखि १५० रुपैंया मागेको पैसाले उनको परिवार गुजारा गरेर बसेको छ ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले आमालाई नागरिकता दिलाइदिएका कारण अहिले वृद्धभत्ता चाहिँ खान पाएको कंसलालले बताए । आफ्नो बारेमा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत सबैलाई जानकारी भए पनि पूर्वाग्रह राखेर आफ्नो पक्षमा काम नगरेको कंसलालको आरोप छ ।

राज्यले औपचारिक रूपमा बलमान मोक्तानलाई शहीद नभने पनि उनको परिवारले हरेक शहीद दिवसमा बलमानको तस्बिरमा माल्यार्पण गर्छ । उनीजस्तै राज्यले मारेका तर शहीद घोषणा नभएका अन्य परिवार मिलेर कार्यक्रम गर्ने गरेको कंसलालले बताए । कंसलालले भने, ‘आमा अहिले पनि बुवाको फोटो हेरेर रुनुहुन्छ ।’

अस्पताल लैजान पैसा नभएपछि झाँक्रीकोमा जानु पर्ने वाद्यता

पशुपति मन्दिर नजिकै एउटा साँघुरो कोठामा मोक्तान परिवार कष्टकर जीवन बिताइरहेको छ । १०१ वर्षकी आमा अहिले आँखा देख्दिनन् र कान पनि सुन्दिनन् । बिरामी पर्दा अस्पताल लाने खर्च नभएर झाँक्रीकोमा लाने गरेको कंसलाल गुनासो गर्छन् ।

कुनैबेलाका गाउँका हुनेखाने मोक्तान परिवारको अहिलेको हालत देख्दा जो कोही पनि राज्यप्रति आक्रोशित नभई रहन सक्दैन । राज्यले पटकपटक गर्ने गल्तीका कारण सहिद पत्नि लक्ष्मीमाया मोक्तानहरू १०१ वर्षको उमेरमा मागेर गुजारा गर्न बाध्य पारिन्छन् ।

हेरौं भिडियो :

Labels: Comedy, Entertainment, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com