• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » काबुल घटनाका प्रतक्षदर्शी भन्छन तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण
काबुल घटनाका प्रतक्षदर्शी भन्छन तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण

तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण
काठमाडौं– अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउने सुरक्षा कम्पनीले तानिबानी समूहलाई धम्कीबापत पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ।

घटनाअघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्ना माथिल्ला निकायलाई ब्रिफिङ गरेका हुन् ।

अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी सोमबार भएको बम विस्फोट तालिबानी समूहले मागेको ‘एक्स्ट्रोसन मनी’ (धम्क्याएर पैसा उठाउने) नदिँदा भएको आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो । घटनामा मारिएका नेपाली काबुलको ‘साबरी’ सुरक्षा कम्पनीअन्र्तगत क्यानेडाली दूतावास सुरक्षामा कार्यरत थिए ।

काबुल मिसनमा संलग्न सुरक्षा अधिकारीले अफगान प्रहरी, फर्किएका व्यक्ति र अन्य स्रोतसँगको कुराकानीका आधारमा ‘घटना तालिबानी धम्कीलाई सामान्य रुपमा लिँदा र सुरक्षाप्रति सचेत नहुँदा भएको हुन सक्ने’ बेहोराको प्रारम्भिक रिपोर्टिङ माथिल्लो निकायमा गरेका हुन् ।

काबुल आक्रमणका सम्बन्धमा अफगानिस्तान सरकारले भनेजस्तै आत्मघाती आक्रमण नभई गाडीमा बम राखेर बाहिरबाट विस्फोट गराइएको हुनसक्ने बुधबार फर्किएको टिमको निष्कर्ष छ ।
‘हाई एक्स्पोलोजिब प्रयोग भए पनि ह्युमेन बम भएको आधार भेटिएन, अफगान प्रहरीले पनि केही भेटेको छैन, काबुल घटना एक्स्ट्रोसनबाट प्रभावित रहेको भेटियो,’ काबुलबाट फर्किएका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एक उच्च प्रहरी अधिकारीले भने ।

ती अधिकारीका अनुसार मिसनमा गएको समूहले काबुल प्रहरी, विमानस्थल सुरक्षा र फर्किएका तथा घाइते नेपालीसँगको कुराकानीका आधारमा अफगानिस्तानमा सुरक्षा सेवा दिने कम्पनी चलेको व्यवसाय रहेको र तालिबानीले त्यस्ता कम्पनीसँग बेलाबेला पैसा माग्ने गरेको खुलेको छ ।

काबुल मिसनमा गएको टोलीका सदस्य परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र अन्य मन्त्रालयका प्रतिनिधि त्यहाँको परराष्ट्र मन्त्रालयका राजनीतिक मामिला हेर्ने उपमन्त्री हेकमत खलिल कारजाईलाई भेट्न गएका थिए । नेपाली सेना र प्रहरी टोली भने शव व्यवस्थापन र तत्काल आउन चाहनेको उद्धारमा खटिएको थियो । नेपाली टोलीमा रहेको नेपाल प्रहरीको विशेष कार्यदलको समूहले बममा प्रयोग भएको विस्फोटक पदार्थ, बम विस्फोटनको तरिका र मार क्षमताका आधारमा प्राविधिक रिपोर्टसमेत विशेष ब्युरोलाई बुझाएको छ ।

‘हामी घटनास्थलमा त जान सकेनौं तर काउन्टरपार्टको अनुसन्धान र उनीहरुसँगको कुराकानीका आधारमा जानकारी दिएका हौं, धेरै जनाबाट सुरक्षाका लागि रकम बुझाउनुपर्नेबारे सुनियो,’ मिसनबाट फर्किएका एक अधिकारीले भने । सरकारले अफगानिस्तान सरकारसँग घटनाको निष्पक्ष छानबिनका लागि आग्रह गर्नुका साथै कार्यरत अन्यको सुरक्षा प्रबन्धमा समेत ध्यान पु¥याउन आग्रह गरेको उनले जनाए ।
‘केही प्रतिक्रिया जनाउनुभन्दा अफगान प्रहरीको अनुसन्धान प्रतिवेदनपछि केही आउला, प्रधानमन्त्रीले फर्किएका सरकारी समूह र अफागानिस्तानमा कार्यरत नेपालीसँग कुरा गर्दा केही कुरा आएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने ।

गृह प्रवक्ता यादवप्रसाद कोइरालाले काबुल गएको उद्धार टोलीले सामूहिक छलफलपछि लिखित प्रतिवेदन बुझाउन सक्ने बताए । उनले समन्वय परराष्ट्र मन्त्रालयले गरिरहेकाले उसबाटै केही आउन सक्ने पनि अपेक्षा गरे । ‘सामान्य जानकारी आदानप्रदान भएको छ, बाँकी केही समयपछि आउला, हामी त्यसपछि भन्न सक्छौं,’ कोइरालाले नागरिकसँग भने । उनले आत्मघाती आक्रमण र फिरौतीबारे केही थाहा नभएको बताए ।

फर्किएकाको बयान

अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती बम विस्फोटको पूर्वसूचना सेक्युरिटी कम्पनीलाई रहे पनि सूचना लुकाएको आरोप बुधबारै फर्किएकाहरुले लगाएका थिए । उनीहरुले तालिबानी समूहले दिएको धम्की लुकाउँदा दुर्घटना भएको बताएका थिए। घटनामा मारिएका १२ शवसँगै फर्किएका २४ जनामध्ये अधिकांशले तालिबानीले मिति र समय तोकर धम्की दिएकामा सुरक्षा प्रबन्ध मिलाउने गरिएकोमा यसपटक सामान्य अवस्थामा निकाल्दा घटना भएको दाबी गरेका थिए ।

मंगलबार राति नै राजीनामा दिएर चार्टर विमानमा फर्किएका कास्कीका भगवान बन्जाराले पूर्वजानकारी पाएपछि सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाउने गरिएकोमा सोमबार कमान्डरले कुनै सूचना नदिएको नागरिकलाई बताए  । ‘हामीले जानकारी किन लुकायौ, अब कसरी काम गर्ने भनेका हौं, त्यहाँ हुने गतिविधिका विषयमा सबैलाई जानकारी हुने गर्छ,’ उनले भने।

इराकअन्तर्गत रहेर काबुलमा कार्यालय राखिएको साबरी सेक्युरिटी नामक अन्तर्राष्ट्रिय सुरक्षा कम्पनीलाई क्यानेडियन दूतावासको सुरक्षा जिम्मा दिइएको छ । दूतावास सुरक्षामा एक सय ४७ जना नेपाली खटिएकामा घटना हुँदा ३३ जना बिदामा थिए । काबुलमा गोर्खाको माग बढी रहने र पश्चिमा देशका दूतावास सुरक्षामा गोर्खाहरुको बाहुल्य रहेको बताए ।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com