• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » मोल मोलाइमा सम्बन्ध: श्रीमानले छोएको हरेक अंगको मोल तिर्न सक्छ ?
मोल मोलाइमा सम्बन्ध: श्रीमानले छोएको हरेक अंगको मोल तिर्न सक्छ ?

newsabhiyan
कञ्चन थापा, पोखरा, असार २१  । श्रीमानले छोएको हरेक अंगको मोल तिर्न सक्छ ? कागजी रुपमा सही गरेर उसले गरेको हरेक स्पर्शलाई बिर्साउन सक्छ ?

अग्निको पवित्र कुण्ड र सिन्दुरको धुलो हुँदै मनबाट आत्मीयता बढाएको सम्बन्ध क्षणभरमै कागजमा सही छाप गर्दै पैसाको मोलमोलाइबाट अन्त हुँदैछन् सम्बन्धहरु ।

दिनप्रति दिन बढ्दै गएको सम्बन्धबिच्छेदका कहानीहरु आजकाल घरघरका कहानी बन्न थालेका छन् । वैवाहिक सम्बन्ध तोडिनु निकै साधारण विषय बन्न थालिसक्यो । जति–जति समाज आधुनिक र शिक्षित हुँदैछ । औपचारिक सम्बन्धका गाँठाहरु उति खुकुलो हुँदैछन् । हिजो हिंसा सहनु कर्मको फल भन्नेहरु आज हिँसा अपराध हो भन्ने बुझाइले पनि सम्बन्धबिच्छेद हुँदैछ भने अर्कोतिर एक अर्काप्रतिको समझदारीमा परेको खडेरीले पनि सम्बन्धबिच्छेदलाई बढाइरहेको छ ।

हुनत सँगै बसेर दुखी हुनुभन्दा छुटिएर खुसी हुनु कैयौं गुणा बेसभन्ने तर्क पनि आफैमा नराम्रो छैन । जहाँ सम्बन्धले सुमधुरता र आत्मीयता अनि सम्मान छोडेर लोग्ने स्वास्नीको औपचारिक शब्दमा मात्र देखा पर्छ त्यो सम्बन्धको अन्त्य श्रेयस्करनै हुन्छ । यद्यपि आजकालको सम्बन्धबिच्छेदका कतिपय घटनाको साक्षी भएको नाताले सम्बन्धको मोलमोलाइले बढी प्राथमिकता पाउन थालेको हो कि भन्ने भान भने हुन थालेको छ ।

विकल्पको आधारनै अर्थसँग जोडिएर पनि होला कतिपय सम्बन्ध सहजै तोडिएर पैसाको मोलमोलाइबाट निचोडमा पुगेको देख्दा यस्तो निष्कर्ष निकाल्न सकिन्छ ।



तीन वर्षअघिमात्र धुमधामले बिहे गरेकी सीता थापा (नाम परिवर्तन) ठूलो इच्छा आकांक्षा साथ जन्मघर छोडेर कर्म घर भित्रिएकी थिइन् । एक वर्ष त जिन्दगी रमाइलोसँग बित्यो त्यसपछि सीताका इच्छा आकांक्षाहरु बिस्तारै भत्किन थाले, रंगीन जीवनमा तुँवालो लाग्न थाल्यो । वैचारिक मतभेदबाट सिर्जित द्वन्द्वले चरम रुप लियो । अन्ततः एक अर्काबाट टाढिने निर्णयमा पुगे ।

अलग हुँदा सीताले आफ्नो सुरक्षित भविष्यका लागि भनेर श्रीमानको अगाडि सर्त राखिन्, सोझै भन्नु पर्दा पैसाको माग राखिन् । हुने खाने नभएपनि उनको सर्त अनुरुप दशलाख ऋण खोजेरै भएपनि उनका श्रीमानले दिए उनीहरु कानुनी रुपमा अलग भए । तोडिएको सम्बन्धबाट प्राप्त रकमबाट अहिले उनी कति सन्तुष्ट छिन् वा बाँकी जीवनको यात्रालाई कसरी अगाडि बढाउँदै छिन् । त्यो उनको व्यक्तिगत कुरा भयो ।

सीताको जस्तै अर्को कथा छ दस वर्ष अगाडि विवाह गरेकी अर्चना गुरुङको(नाम परिर्वतन ) पनि पोखरामा एउटा स्टान्र्डड जीवनयापन गरिरहेका यो जोडीको सम्बन्ध पनि अगाडि बढ्न सकेन । राम्रो जागिर,मनग्य आम्दानी,पोखरामा घर, घडेरी बैक ब्यालेन्स ।

आँखाका नानीजस्ता दुई छोरी, दुवै जागिरे, बाहिरबाट हेर्दा यति रमाइलो र मिलेको परिवार सायदै हुन्छ होला तर,भित्री संसार कहालीलाग्दो हरेक पलले यो परिवारको खुसी पनि टिकेन । प्रोजेक्टमा जागिरे अर्चना कामको सिलसिलामा बाहिर हिँडनुपर्ने विभिन्न व्यक्तिसँग बोल्नु पर्ने हुँदा उनका श्रीमान शंकालु बन्न थाले । विभिन्न आरोप प्रत्यारोपले परिवार बीचको आत्मियतालाई चुडाल्दै लग्यो । अन्तत ती दुई बालसुलभछोरीहरुको भविष्यप्रतिदुवैले आँखा चिम्म गरेर आफ्नो अधिकार र स्वतन्त्रताको दुहाई दिन थाले अन्ततः छोरीहरु अभिभावकको माया र ममताबाट बञ्चित भए ।

कानुनी रुपमा पुग्नु भन्दा अगाडि छोरीको भविष्य भन्दै आर्थिक माग बढ्न थाल्यो । घर र केही ब्यालेन्सले दशकको सहयात्रालाई तोडिदियो ‘खै सम्बन्ध पैसाले तान्यो या पैसाले सम्बन्धलाई’ तर नाबालिकाको मनोभावलाई भने नराम्रोसँग झट्कालाग्यो । आमा र बाबाको यो जुँधाइमा घुन जस्तो बने छोरीहरु ।

बीस वर्षअघिअन्तरजातीय प्रेम विवाह गरेकी सपना सापकोटा यतिखेर झसङ्ग भएकी छिन् ।पन्ध्र वर्षअघि विदेशिएका श्रीमान घर आउँदा सौतालिएर आए । सत्रवर्ष लक्का जवान छोेराकी आमासँग अब श्रीमान बस्न चाहेनन्।सम्बन्धको नयाँसूत्रमा रमाइरहेका उनी सम्पत्ति दिएर सम्बन्ध तोड्न चाहान्छन् । पन्ध्र वर्षपछिको श्रीमानको माया र साथको आस गरेकी सपनालाई अब उसका श्रीमानले असी लाखमा आफुसँगै बाँधिएको दाम्लो छिनाल्ने निर्णय गरेका छन् ।सपनाको खोसिएको माया पुनःनफर्केने भएपछि असी लाखमा सम्बन्धलाई तिलाञ्जली दिन उनी पनि बाध्य भएकी छिन् ।

यी केही प्रतिनिधि घटना जो आफ्नै अगाडि पैसाको मोलमोलाई हुँदै सम्बन्ध तोडिएका छन् । कुनै एक कारणले मात्र नभई विभिन्न कारणहरुले सम्बन्धलाई टुटाइरहेको छ । दिनप्रति दिन हरेक सम्बन्ध यस्तै माहोल परिवेशबाट गुज्रिएको देखिन्छ । अदालतमा हरेक दिन दुईतिर फर्किएका मनहरु देखिन्छन् । सम्बन्धको मोलमोलाइमा चित्त बुझे क्षणभरमै टुंगिन्छ सम्बन्ध ।

जहाँ न्यायको आस गरिन्छ त्यहाँ पैसा हाबी भइदिन्छ र न्यायले भन्दा पैैसाले आत्मसन्तुष्टि मिलेको देखिन्छ । सायद जिउनकालागि न्यायालयको न्याय भन्दा बढी पैसाको हुने भएर पनि होला। यसरी लेखिरहँदा कसैले भनेको कुरा सम्झन्छु ‘एउटा कागजमा गरेको सहीले मनको अन्तरंगसँग जोडिएको सम्बन्ध कसरी बिछोड हुन सक्छ ?

श्रीमानले छोएको हरेक अंगको मोल तिर्न सक्छ ? कागजी रुपमा सही गरेर उसले गरेको हरेक स्पर्शलाई बिर्साउन सक्छ ? कदापि सकिँदैन तर पनि सिरियलका कहानी जस्तै सजिलै तोडिँदैछन् सम्बन्धहरु । अग्निको पवित्र कुण्ड र सिन्दुरको धुलो हुँदै मनबाट आत्मीयता बढाएको सम्बन्ध क्षणभरमै कागजमा सही छाप गर्दै पैसाको मोलमोलाइबाट अन्त हुँदैछन् सम्बन्धहरु ।  यो सामाग्री समाधानबाट साभार गरिएको हो न्यूज अभियान ।

श्रोत न्युज अभियान 

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com