पाँच वर्षअघि मलेसिया गएका दिल बहादुर जेठ सम्म घर आउछु आमा भनेको थिए तर आएन
अमृता बस्नेत/धादिङ । - असार ८ – ‘जेठसम्ममा त जसरी नि आउछु आमा । मलाई यहाँ बस्न मन छैन ।’ छोराले पाँच महिना अघि भनेका कुरा सम्झिँदा लालमाया श्रेष्ठका आँखा टिलपिल भए । पाँच वर्षअघि मलेसिया गएका दिलबहादुरले आमालाई जेठमा घर आउँछु भनेका थिए । छोराले भनेको महिना कट्यो तर छोरा घर फर्किएनन् । त्यसैले कहाँ जाने र के गर्ने भएको छ लालमायालाई । धादिङको कुम्पुर ८ का दिल बहादुर श्रेष्ठ ५ वर्षअघि मलेसिया जानु भएको थियो । दुई जना दाजु विदेशमै भएपनि घरको आर्थिक अवस्था राम्रो भएन । त्यसैले दिल बहादुर पोल्ट्री फार्ममा काम गर्न मलेसिया जानुभयो ।
पोर्टक्लङ पासापुरीमा रहेको आयन मास कम्पनीमा काम गर्ने दिल बहादुरको कमाई राम्रै थियो । त्यसैले तीन वर्षसम्म त घरमा फोन भइरहेको थियो । पैसा पनि पठाइरहेका थिए । तर त्यसपछिका फोनमा भने दिलबहादुरले विदेशका बारेमा दिक्दारी मात्रै सुनाउथे आमालाई । अनि तीन वर्षपछि उहाँ परिवारसँग सम्पर्कविहिन हुनुभयो । तर त्यति बेला धादिङमा रहेको आवाज अभियान नेपालले आयोजना गरेको पत्रकार अभिमुखिकरण पछि आएको समाचारले दिलबहादुर परिवारको सम्पर्कमा आए ।
‘पत्रकारसँगको अभिमुखिकरण कार्यक्रमपछि विभिन्न पत्रपत्रिकाहरुमा खवर आएपछि विदेशमा सँग बस्ने साथीले सुनाइदिएछन् ।’ आवाज अभियान नेपालका कार्यक्रम सञ्चालक इन्दिरा अर्यालले भन्नुभयो ‘समाचार आएको तीन घण्टामा नै उहाँले म सञ्चै छु भनेर फोन गर्नुभएको थियो ।’ तीन वर्ष पछि फोन गरेको छोरालाई लालमायाले किन फोन नगरेको भनेर सोध्नु पनि भयो । ‘आमा मलाई यहाँ लुट्यो । सबै पैसा पनि लग्यो । त्यही भएर फोन गर्न पनि पाइन भन्यो ।’ लालमायाले छोराले दिएको उत्तर सुनाउनुभयो । फोन हुन थालेपछि दिल बहादुरले आमासँग दसैंमा आउँछु भनेका थिए । तर आउनुभएन । पाँच महिनापछि घर आउँछु भनेपछि दिलबहादुरले घरमा ७० हजार रुपैयाँ पठाएका थिए ।
तर सम्पर्कमा आएको एक बर्ष पछि फेरि दिल बहादुर परिवारको सम्पर्कमा छैनन । आमालाई विदेश बस्नै मन छैन्, घर फर्किहाल्छु भनिरहने छोरो हराएपछि आमा लालमायालाई चाहिँ के अप्ठ्यारो पो पर्यो कि भन्ने लाग्छ । भन्नुहुन्छ ‘मेरो बाबुलाई फेरी केही पो भयो कि ? नभए फोन त गरिहाल्थ्यो नि ।’ दिलबहादुर विदेश जाँदा उनका बुवा विरामी थिए । एक वर्ष अघि बुवाको निधन भयो । दिलबहादुरले अन्तिममा बुवाको अनुहार हेर्न पाएनन् । यसअघि हराएका बेला, आवाज अभियानले विभिन्न सञ्चार माध्यामहरुको समन्वयबाट पहल गरेपछि सम्पर्कमा आएकाले अहिले पनि लालमायाको आशा यहीँ अल्झिएको छ । भन्नुहुन्छ ‘एकपटक हेलो मात्र भनेको सुन्न पाए पनि म बुढिआमाको मनमा शान्ति हुन्थ्यो । आनन्दको सास फेर्न पाउथें । मेरो छोरा खोजिदिनु पर्याे ।’

0 comments
Write Down Your Responses